
विराटनगर २४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले प्रदेशमा निर्माण हुने ठूला जलविद्युत परियोजनामा नागरिकको नाममा लगानी गर्ने बताउनु भएको छ ।
नेकपा एमाले कोशी प्रदेश उर्जा, जलश्रोत तथा सिंचाई विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेशको समृद्धिका लागि जलस्रोत एवं उर्जा विषयक कार्यशाला गोष्ठीमा उहाँले प्रदेश सरकारले नीति एवं कानून निर्माण गरि कोष मार्फत यस क्षेत्रका गरिवीका रेखामुनी रहेका ११ प्रतिशत जनताको नाममा शेयर लगानी गर्ने जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो, ‘प्रदेश सरकार यस क्षेत्रका जनतालाइ धनि बनाउने र ठूलठूला परियोजनामा नागरिकहरुलाई प्रत्यक्ष सहभागी बनाउने नीतिले कार्य गरिरहेको छ ।’ उहाँले सुनसरी, मोरङ ,झापा र इलामको दक्षिण क्षेत्रका जनताको समृद्धिमा रहेको महत्वपूर्ण योजना ‘तमोर चिसाङ्ग डाइभर्सन ’ रहेको छ भन्दै यसमार्फत विद्युत, यहाँका नागरिकले विद्युत खानेपानी, सिंचाई प्राप्त गर्नुका साथै पर्यटकको आवागमन वृद्धि हुनाले यसको निर्माण कार्य चाँडै नै अगाडि वढाउने बताउनु भयो । मुख्यमन्त्री कार्कीले मुलुकको समृद्धिको मुख्य आधार रहेको जलविद्युत परियोजनाको निर्माणका लागि वाटो निर्माण, जग्गा प्राप्ति लगायतका कार्यमा स्थानीय तह, राजनीतिक दलहरुले सहजीकरण गर्नुपर्ने सुझाव दिनुभयो ।
प्रदेशका खानेपानी,सिंचाई तथा उर्जामन्त्री एकराज कार्कीले चैते धान उत्पादन वृद्धिका लागि सिंचाईको प्रवन्ध गरिरहेको बताउदै यस क्षेत्रमा सिंचाईका लागि प्रदेश सरकारले आठ सय स्यालो ट्युवेल मोरङ, सुनसरी, झापा र इलाममा वितरणको योजना रहेको जानकारी दिनु भयो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेशमा निर्माण हुने जलविद्युत परियोजनाहरु छिटो सम्पन्न गर्न पार्टीले सहजीकरण गरिरहेको जानकारी दिनु भयो । पार्टीका उर्जा, जलश्रोत तथा सिंचाई विभाग प्रमुख मोहनकुमार डाँगी, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जलश्रोतको विकासले मुलुकमा समृद्धि र रोजगार सिर्जना हुने धारणा राख्नुभयो ।
कार्यक्रममा विभाग प्रमुख डाँगीले कोशी प्रदेशको समृद्धिको लागि जलस्रोत र उर्जा, विभागका सचिव पुष्पज्योति ढुङ्गानाले जलविद्युत उत्पादनमा प्रदेश सरकारको सहजीकरण विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत गरिएको कार्यपत्र अनुसार कोशी प्रदेशमा विभिन्न ४१ वटा निर्माणाधिन जलविद्युत परियोजनाबाट दुई हजार तीन सय ६५ मेघावाट विद्युत उत्पादन हुनेछ ।