
विराटनगर २१ माघ । कुष्ठरोग भएका विरामीका लागि नेपाल सरकारले स्वाथ्य बीमा निशुल्क गरेको छ । उनीहरुको स्वाथ्य बीमा बापतको योगदान रकम नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले व्यहोर्ने स्वास्थ्य बीमा नियमावली २०७५ मा व्यवस्था गरेको छ ।
नियमावली अनुसार अति अशक्त अपाङ्गता, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोग विरामी भएका परिवारको योगदान रकम सरकारले व्यहोर्ने व्यवस्था छ । तर कुष्ठरोग भएका विरामीहरु झण्डै आधाले मात्रै स्वास्थ्य बीमा गरेका छन् । सरकार अभिलेख अनुसार आधा भन्दा बढी बीमाको पहुँच भन्दा बाहिर छन् ।
प्रदेश स्वास्थ्य निर्देशनाल धनकुटाका अनुसार कोशी प्रदेशमा कुष्ठरोगका औषधि सेवन गरिरहेका विरामीको संख्या ४ सय १३ छ । मोरङमा १७३, झापामा १३३, सुनसरीमा ७३, उदयपुरमा १२, धनकुटामा १०, इलाममा ६ र अन्य जिल्लामा ५ जना छन् । कुष्ठरोगका विरामीको स्वत : बीमा नविकरणको व्यवस्था पनि छ । तर स्वाथ्य बीमाको पहुँचमा २ सय २८ जना मात्रै आबद्ध छन् । निर्देशनालयका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाँईका अनुुसार मोरङमा एक सय, सुनसरीमा ३०, झापामा १ सय १, अन्य जिल्लाका २७ ले मात्रै स्वास्थ्य बीमा गरेका छन् । आधा भन्दा बढीले स्वास्थ्य बीमा गरेका छैनन् ।
सन २०१० मा राष्ट्रिय स्तरमा जनस्वास्थ्य समस्याका रुपमा निवारण गरिएपनि कुष्ठरोगीको संख्या अपेक्षित रुपमा घट्न सकेको छैन । कुष्ठरोगको क्षेत्रमा लामो समय देखि कार्यरत संख्या नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) कोशी प्रदेशमा कुष्ठरोगीको संख्या १५ हजार ५ सय रहेको दावी गर्छ । संख्याका प्रमुख नन्दलाल बाँस्तोलाका अनुसार यो संख्या १५ हजार ५ सय छ । ८० प्रतिशत बढी कुष्ठरोग भएका विरामी आँफै चिन्ने समेत उनको दावी छ । सरकारी तथ्याङ्क कम आएको उनले बताए । आफुहरुको तथ्याङ्क अनुसार स्वास्थ्य बीमामा कुष्ठरोग भएका व्यक्ति, परिवारको उपस्थिति कमजोर छ । कुष्ठरोगका कारण ६ हजार अपाङ्ग भएको उनले बताए ।
शुक्रबार विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको सन्दर्भमा फेरमेड नेपालको प्राविधिक सहयोगमा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले विराटनगरमा आयोजना गरेको कुष्ठ तथा हात्तिपाइले प्रभावितहरुको लागि स्वास्थ्य बीमामा सहज पहँुच सम्बन्धि निति सम्वाद कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य बीमा नीति अनुशार कुष्ठ तथा हात्तिपाइले प्रभावितहरुका लागि स्वास्थ्य बीमामा समायोजन हुन नसक्दा उपचारको पहँुचबाट टाढा रहेको औल्याएका छन् ।
स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितले २६८ जना संक्रमितहरु स्वास्थ्य बीमामा आबद्ध भएको बताए । उनका अनुसार कुष्ठरोग प्रभावित १ हजार १७२ परिवारको बीमा गरिएको छ । स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार ६५ प्रतिशत कुष्ठरोग भएका विरामीहरु बीमा आबद्ध छन् । कुष्ठ रोग लागेकाहरु खुले अझै पनि बाहिर आउन नसकेको उनले बताए । समाजको अपहेलित हुने डरले कुष्ठरोग लागेकाहरु स्वास्थ्य बीमा आबद्ध हुन नसकेको उनको भनाई छ । कोशी प्रदेशमा ११२ सेवा प्रदायक संस्थाहरुले सेवा उपलब्ध गराएको पण्डितको भनाई छ । २५ लाख ६१ हजार करिव ५२ प्रतिशत प्रदेशवासी बीमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो ।
नेपाल नगरपालिका संघ कोशी प्रदेशका अध्यक्ष तथा मोरङको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले कुष्ठरोग लागेका विरामीहरुमा सूचना नपुगेका कारण पनि स्वास्थ्य बीमामा आबद्ध नभएको हुन सक्ने बताए । स्वास्थ्य बीमालाई आकर्षित पनि बनाउन नसकिएको उनको गुनासो छ । बीमाबाट उपचारका लागि अस्पताल पुग्नेहरुलाई अस्पतालले दोश्रो दर्जाको रुपमा हेर्ने गरेको उनको भनाई छ ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख सागर प्रसाइँले कुष्ठरोगका विरामी र परिवारको तथ्याङ्क फरक रहेको स्वीकार गर्छन । समानान्तर तरिकाले स्थानीय तहहरु अघि बढ्ने गरेका कारण स्वास्थ्यको तथ्याङ्कमा समस्या भएको उनले बताए ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालय सचिव डा. राधिका थपलियाले सरकारले दिएको निशुल्क सेवाको बारेमा पर्याप्त जानकारी नपुगेको कारण लक्षित बर्ग अझैपनि सेवाको पहुँचबाट टाढै रहेको बताईन । उनले भनिन, ‘ हामी माझ स्वास्थ्य साक्षरताको निकै कमी छ, सामान्य समस्या देखि सरकारले के कस्तो काम गरिरहेको छ भन्ने भन्ने बिषयमा सामान्य मानिस पनि जानकार हुनु आवश्यक छ ।’ उनले राज्यले स्वास्थ्यमा छुट्याएको अर्बौ रकम सदुपयोग हुन नसकेको कुरा सबैले मनन गर्नु आवश्यक भएको समेत बताइन ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले उपेक्षित उष्णप्रदेशिय रोगको निवारणको लागि तिनै तहको सरकार र सरोकारवालाहरुको सहकार्यको महत्वपूर्ण भुमिका रहेको औल्याए ।
कार्यक्रममा प्यानल छलफलको सहजीकरण स्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले गरेका थिए । कार्यक्रममा सम्बन्धित बिषयमा कार्य गर्ने बिभिन्न सरकारी तथा गैर सरकारी सरोकार सस्थाका प्रतिनिधी लगायतको सहभागिता थियो ।
कार्यक्रममा कुष्ठ तथा हात्तिपाइले रोगका विरामी तथा प्रभावितहरुले आफुले भोग्नुपरेको समस्याका बारेमा बोलेका थिए ।
कोशी प्रदेशका तीन जिल्लामा फेयरमेडको सहयोगमा सहारा नेपालले विश्वास परियोजना मार्फत उपेक्षित उष्णप्रदेशीय रोगहरु हात्तिपाईले, कुष्ठरोग लगायतको निवारणका लागि सचेतनामुलक कार्यक्रमसँगै स्वास्थ्य सामग्री, क्षमता विकास लगायतको काम गर्दै आएको छ ।