उखु उत्पादन बढाउन नीतिगत व्यवस्था गर्छौं : मुख्यमन्त्री कार्की

विराटनगर १० मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उखु उत्पादन बढाउन सरकारले नीतिगत व्यवस्था गरिने बताउनु भएको छ । आगामी आर्थिक वर्ष २०८२–०८३ का को नीति तथा कार्यक्रम र बजेटमा नै उखु उत्पादनमा जोड दिईने व्यवस्था गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दि नेपाल डिस्ट्रिलरिज प्रालि काठमाण्डौंसँगको सहकार्यमा नेपाल फार्मस एडभाईजरी काउन्सील प्रालि काठमाण्डौंले आज विराटनगरमा आयोजना गरेको उखु खेती प्रर्बद्धनका लागि कृषकहरुको सीपमुलक तथा आय अभिबृद्धि अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उखु किसानका समस्या समाधानका लागि किसान र चिनि मिल उद्योगीसँग बसेर प्रदेश सरकारले आवस्यक सहजीकरण गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले नगदे तथा खाध्यवालीको प्रबद्र्धनका लागि सरकारले जनताको जीवनस्तर उठाउने गरिको योजना ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,‘ तराईका मुख्य नगदे तथा खाध्यबाली र पहाडका नगदे तथा खाध्यबालीको प्रर्बद्धनका लागि उद्योग,कृषि तथा सहकारी मन्त्रालयमा छुट्टै शाखा बनाएर काम गरिने छ ।’ विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले किसानले आफ्नो मूल्य राख्न नपाउन्जेल किसानहरू खेति प्रति आकर्षित हुन नसक्ने बताउनुभयो । उहाँले किसानका लागि सहुलियतमा मल, विउ, सिंचाई सुविधा, कृषि औजार आवस्यक रहेको बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका पूर्व कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले पछिल्ला वर्षहरुमा नेपालमा कृषि बाली खुम्चदै गएको बताउनुभयो । उहाँले उखुको उत्पादन पनि घटेको बताउनुभयो । डा. कार्कीले भन्नुभयो,‘ उखुको उत्पादन बार्षिक ३७ लाख मेट्रिक टनबाट २९ लाख मेट्रिक टनमा झर्यो ।’ सरकारले उखु किसानका समस्यालाई राम्रोसँग संवोधन गर्न नसक्दा पनि उखुी खेतीबाट किसानहरु पलायन हुँदै गएको डा. कार्कीको भनाई छ । उखु उत्पादन घटेकाले बढाउनुपर्ने उहाँले बताउनुभयो । नेपालमा उखु खेतीको राम्रो संभावना रहेको उहाँले बताउनुभयो । उखु किसानलाई प्रबद्र्धन गर्नका लागि कोशी प्रदेश सरकारले उखु विकास बोर्ड गठन गर्न आग्रह गर्नुभयो ।

नेपाल सरकारका पूर्व प्रशासक तथा दि नेपाल डिस्ट्रिलरिज प्रालिका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट उत्पादन हुने विभिन्न बस्तुको कच्चा पदार्थका लागि अन्यमुलकसँग भर पर्नु पर्ने अवस्था रहेको बताउनुभयो । नेपालमा उखु उत्पादनमा बृद्धि गर्न सके कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । उत्पादन बढाएर पुँजी बाहिर जान नदिनका लागि पनि किसानलाई अभिमुखीकरण आवस्यक रहेको रेग्मीको भनाई छ । उहाँले भन्नुभयो । ‘ उत्पादनमा बृद्धि भए स्वदेशमै कच्चा पदार्थ तयारी गर्न सकिन्थ्यो ।’ उहाँले पनि उखु विकास बोर्ड आवस्यक भएको बताउनुभयो । दि नेपाल डिस्ट्रिलरिज प्रालिले प्रदेश स्तरमा अहिले अभिमुखीकरण गरिरहेको र नमूनाका रूपमा कुनै एउटा स्थानीय तह छनौट गरेर उखु खेती शुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘ नमूना कार्यक्रमका लागि आवस्यक सम्पूर्ण खर्च नेपाल डिस्ट्रिलरिज प्रालिले गर्ने छ ।’

कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले उखु किसानका समस्या पहिचान गर्ने काम मन्त्रालयले गरिरहेको बताउनुभयो । उहाँले उखु खेतिबाट किसानहरु पलायन हुँदै गएको बताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राष्ट्रिय योजना आयोग कोशी प्रदेशका सदस्य उखुको उत्पादन बढाउन नयाँ खेती आवस्यक रहेको र किसानको भुक्तानीमा समस्या समाधानमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उखु किसान राजेश्वर मेहता उखु किसानको भुक्तानीमा समस्या धेरै हुने गरेकाले सरकारले किसानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मोरङ, सुनसरी र झापाका ४० जना उखु किसानहरु सहभागि छन् । उनीहरुलाई पूर्व कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले नेपालमा उखु खेतीको महत्व र संभावना, नार्कका डा. दिलराज यादवले उखु बालीको प्रमुख रोग र कीराहरु तथा तिनको व्यवस्थापन र उखुका उत्कृष्ट जातहरु तथा उन्नत उत्पादन प्रविधिका विषयमा, नार्कका जगतबन्धु अर्यालले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्स्थापन र मलखादका विषयमा सहजीकरण गर्नु भएको थियो ।