कोशीमा पूर्वाधार विकास : सडक र बहुवर्षीय योजनामा फट्को

राकेशलाल दास
विराटनगर–मुलुक संघीय संरचनामा गएसँगै पछिल्लो समय प्रदेश तहबाट कार्यान्वयन भएका भौतिक पूर्वाधारसँग सम्बन्धित योजनाले मूर्त रुप लिन थालेका छन् ।

पछिल्लो ६ वर्षको अवधिमा कोशी समेत सातै प्रदेशले पूर्वाधार निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गरेका छन् । कोशीमा भने पूर्वाधार कार्यालय मोरङबाट भए गरेका कार्यको सकारात्मक प्रभाव जनस्तरसम्मै देखिएको छ । बाटोघाटो तथा पुल–पुलेसा निर्माणलगायत क्षेत्रमा अन्य प्रदेशको तुलनामा कोशी प्रदेशले प्रशंसायोग्य प्रगति हाँसिल गरेको पाईन्छ । भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आएको कोशी प्रदेश सरकारको काम सुनसरी–मोरङमै मात्रै पनि सहजै देख्न सकिन्छ ।

प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको विराटचोक–घिनाघाट सडकदेखि सयौं बाटोघाटो निर्माणमा सरकारले देखाएको तदारुकता उत्साहजनक छ । जनताले पनि संघीयता त हामै्र निम्ति हो भन्ने महशुस भएको स्थानीयको भनाइ छ । स्रोत साधनले भ्याएसम्म सरकारले गरिरहेको भरमग्दुर प्रयासको प्रमाण कोशी प्रदेशको मोरङ र सुनसरीमा पूर्वाधार विकास कार्यालयमार्फत् पछिल्लो ६ वर्षमा भएका कामहरु भएको कार्यालयले जनाएको छ ।

२९१ किलोमिटर सडक कालोपत्रे
पूर्वाधार विकास कार्यालय मोरङमार्फत् पछिल्लो ६ वर्षमा सुनसरी र मोरङमा कुल २९१ किलोमिटर सडक कालोपत्रे भएका छन् । ६३९ किलोमिटर सडक ग्राभेल भएका छन् । ७२६ किलोमिटरमा सरकारले ट्रयाक खोलेर बाटो निर्माणको काम गरेको छ ।

यो अवधिमा सबैभन्दा बढी मोरङमा ११७ दशमलव ९१ किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार मोरङमा आर्थिक वर्ष २०७५/०७६ मा १५, ०७६/०७७ मा ३३, ०७७/०७८ मा १०, ०७८/०७९ मा ३९ र ०७९/०८० मा १८ किलोमिटर सडक कालोपत्रे भएका छन् । वर्षौंदेखि वर्खामा हिलाम्मे र गर्मीमा धुलाम्मे बाटोमा हिँडन बाध्य जनताले राहतको अनुभूति गर्न पाएको कार्यालय प्रमुख सुशील श्रेष्ठ बताउँछन् । उनले भने,“प्रदेशको संरचनामा गएसँगै विकास जनताको घरदैलोमै पुगेको छ ।”

सडक ग्राभेल र नयाँ सडकका लागि ट्रयाक खोल्ने काम पनि सुनसरीको तुलनामा मोरङमै बढी भएको कार्यालयको तथ्याङ्क छ । तथ्याङ्कअनुसार मोरङमा आर्थिक वर्ष २०७५/०७६ मा ६८, ०७६/०७७ मा १२६, ०७७/०७८ मा २८, ०७८/०७९ मा ८८ र ०७९/०८० मा ४७ किलोमिटर सडक ग्राभेल गरिएका छन् ।

ग्राभेल गरिएका केही सडकहरु आगामी आर्थिक वर्षदेखि नै कालोपत्रे गर्ने तयारी भईरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आम सर्वसाधारण तथा यातायातको सहज आवागमनका निम्त्ति मोरङमा ट्रयाक खोलिएका कुल ५०४ किलोमिटर सडकलाई पनि क्रमशः कालोपत्रे गर्ने तयारी भईरहेको छ ।

सुनसरीमा भने पछिल्लो ६ वर्षमा पूर्वाधार विकास कार्यालय मोरङले कुल ९५ किलोमिटर सडक कालोपत्रे गरेको छ । यो अवधिमा कार्यालयले २३९ किलोमिटर सडक ग्राभेल र २२१ किलोमिटर कच्ची सडक समेत निर्माण गरेको छ । जसमा आर्थिक वर्ष २०७५/०७६ मा १०, ०७६/०७७ मा १८, ०७७/०७८ मा ८, ०७८/०७९ मा ४ र ०७९/०८० मा ५३ किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको कार्यालयको प्रगति विवरण छ । कार्यालयले सबैभन्दा बढी आर्थिक वर्ष २०७६÷०७७ मा ८४ किलोमिटर सडक ग्राभेल र १५७ किलोमिटर कच्ची सडक निर्माणको काम गरेको कार्यालयका प्रमुख सुशील श्रेष्ठ बताउँछन् ।

संघीयता आएपछि जिल्लामा सडक तथा पुल लगायतका पूर्वाधार निर्माणका निम्त्ति सरकारले पूर्वाधार विकास कार्यालयको स्थापना गरेपछि जनताले पनि विकासको अनुभुति गर्न पाएको उनको भनाइ छ । ‘विगतको तुलनामा अहिलेको परिवेश र परिस्थितिमा ठूलो परिवर्तन भएको छ । पहिलेका हिलाम्मे बाटा अहिले कालोपत्रे भएका छन् । घण्टौं लाग्ने यात्रालाई सडक पूर्वाधारको दुरुस्त अवस्थाले छोट्याएको छ,’ उनी भन्छन, ‘प्रदेशका अधिकांश गाउँबस्ती सडकले जोडिएका छन् ।’

सरकारले कोशी प्रदेशभर कुल ७ वटा पूर्वाधार विकास कार्यालयको स्थापना गरेको छ । जसमा सुनसरी र मोरङ, झापा र इलाम, पाँचथर र ताप्लेजुङ, संखुवासभा र तेह्रथुम, भोजपुर र धनकुटा, उदयपुर र खोटाङ तथा ओखलढुङ्गा र सोलुखुम्बु हेर्ने गरी १/१ कार्यालयको व्यवस्था गरिएको छ ।

बने १० पक्की पुल
पुल नहुँदा अन्तरजिल्ला र अन्तरपालिका यात्रा नै असहज हुने गरेको परिस्थिति अहिले सुनसरी–मोरङमा छैन् । सडक पूर्वाधारको विकाससँगै यी दुई जिल्लामा पक्की पुल निर्माणले पनि दोहोरो आवागमनमा निकै सहजता थपेको स्वयंम् स्थानीय बताउँछन् ।

पछिल्लो ६ वर्षमा सुनसरी र मोरङमा कुल १० वटा नयाँ पुल निर्माण भएको पूर्वाधार विकास कार्यालयको तथ्याङ्क छ । पुल नहुँदा बर्खामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताबाट अब सुनसरी र मोरङका जनता मुक्त भएको पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठ बताउँछन् । पछिल्लो ६ वर्षमा कार्यालयबाट सुनसरीको बराहक्षेत्र, धरान र देवानगञ्ज तथा मोरङको कानेपोखरी, बेलबारी, मिक्लाजुङ, धनपालथान र बुढीगङ्गामा १८ मिटरदेखि ८६ मिटरसम्मका पुल निर्माणको काम भएको कार्यालयले जनाएको छ ।

सकिन लागे गौरवको आयोजना
मुलक संघीय संरचनामा रुपान्तरण भएपछि कोशी प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा अघि बढाइएको घिनाघाट–विराटचोक सडक निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । समयमा ठेक्काको म्याद थप नगरेका कारण पछिल्लो १० महिनादेखि बन्द अवस्थामा रहेको उक्त आयोजना आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुने देखिएको हो ।

२०८० चैतमा कोशी प्रदेश सरकारले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमार्फत् एक पटकका लागि म्याद थप गर्नसक्ने व्यवस्था गरेपछि घिनाघाट–विराटचोक सडकखण्डको बाँकी काम चाँडै सम्पन्न हुने देखिएको हो ।

कुल २२ दशमलब १९ किलोमिटरको घिनाघाट–विराटचोक चारलेन सडक ३ प्याकेजमा विभाजन गरी २०७६ सालदेखि बनाउन सुरु गरिएको थियो । सडकको विराटचोकदेखि नेताचोकसम्मको पहिलो प्याकेज र नेताचोकदेखि मिलनचोकसम्मको दोश्रो प्याकेज निमार्णको ठेक्का श्रेष्ठ–रमन–एपेक्स जेभीले पाएको थियो ।

२०७६ असार २९ गतेको सम्झौता बमोजिम दुवै प्याकेजको निमार्ण कार्य २०७८ असार २८ गतेभित्र सम्पन्न भईसक्नुपर्ने थियो । जसमा हालसम्म दोश्रो प्याजकेजअन्तर्गतको नेताचोकदेखि मिलनचोकसम्मको १० किलोमिटर सडकखण्डको निमार्ण सम्पन्न भईसकेको छ ।

पहिलो प्याकेजको भौतिक प्रगति पनि ८८ प्रतिशत रहेकाले अबको असार मसान्तभित्रै बाँकी निमार्ण कार्य सम्पन्न भईसक्ने ठेकेदार कम्पनीले जनाएको छ । विगतको कोभिड महामारी र बढ्दो महङ्गीका कारण निमार्ण कम्पनीहरुले समयमै काम सम्पन्न गर्न नसकेपनि अब भने दिईएको समयमै काम सकेर देखाउने आश्वासन प्राप्त भएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले बताए ।

घिनाघाट–विराटचोक सडकखण्ड अन्तर्गत मिलनचोकदेखि पुष्पलाल चोकसम्मको तेश्रो प्याकेजको निमार्ण कार्यमा मात्रै अब अझै १ वर्ष समय लाग्ने देखिएको कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार निमार्णको ठेक्का पाएको लामा–बानिया जेभीले पहिलोपटकको थप म्यादमा काम सम्पन्न गर्न नसकेपछि अहिले दोश्रोपटक म्याद थपेको छ । समयमा म्याद थपका लागि निवेदन नदिएकै कारण मिलनचोक–पुष्पलालचोक सडकको काम विगत १० महिनादेखि बन्द थियो । उक्त खण्डमा पर्ने सिंघिया खोलाको पुल निमार्ण पनि अलपत्र अवस्थामा थियो । तर, सरकारले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमार्फत् एकपटकका लागि म्याद थप्न पाउने व्यवस्था गरिदिएपछि अब अड्किएका प्रायः सबै आयोजना चाँडै सम्पन्न हुने देखिएको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ ।

बहुवर्षीयमा पनि छलाङ
सुनसरी र मोरङमा पूर्वाधार विकास कार्यालयमार्फत् कोशी प्रदेश सरकारले अघि बढाएका बहुवर्षीय आयोजनाको अवस्थामा पनि सन्तोषजनक देखिएको छ । यी दुई जिल्लामा अहिले २९४ किलोमिटरको २५ वटा बहुबर्षीय सडक र २३० मिटरको ६ वटा बहुवर्षीय पुलहरु निर्माणधीन अवस्थामा छन् । चालु आर्थिक वर्षको वैशाखसम्म सम्पन्न भएका वहुवर्षीय सडकहरु भने ४ वटा रहेको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार ८ किलोमिटर लम्बाईको २७ करोड लागतको मोरङको शनिश्चरे बजार कुसेचौरी मङ्गलबारे सोमबारे हुँदै सिरिसे डाँडाबाट बितिङ किराँतीचोक हुँदै विरेन्द्रनगरसम्मको सडक निर्माण सम्पन्न भईसकेको छ ।

मोरङको घिनाघाट–विराटचोक सडकको भने दोश्रो प्याकेजको काम मात्र बाँकी छ । सुनसरीको भने ५ करोड लागतको १ दशमलव ८ किलोमिटरको भोक्राहा गाउँपालिकाको भोक्राहा बजार सडक र कोशी गाउँपालिकाको २७ करोड लागतको ६ दशमलव १ किलोमिटरको शिवचोकदेखि भारतीय सिमा वीरपुर सम्मको बहुवर्षीय सडक चालु आर्थिक वर्षको वैशाखसम्म सम्पन्न भईसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सुनसरी र मोरङमा अहिले भने ११ वटा झोलुङ्गे पुल निर्माणको काम भईरहेको छ । जसमा ग्रामथानको लोहन्द्रा खोलाको झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा छ । कानेपोखरी र पथरी जोड्ने ऐयाबारी र डाँसखोलाको पुल निर्माण भने सम्पन्न भईसकेको छ ।

चालु आर्थिक वर्षमा भने २८२ वटा खुद्रे योजना संचालनमा रहेको ११३ वटा सम्पन्न भईसकेको कार्यालयको तथ्याङ्क छ ।