कोशी प्रदेशका ८ लाख ९३ हजारलाई दादुरा–रुवेलाको खोप लगाईदै

विराटनगर ८ फागुन । कोशी प्रदेशका ८ लाख ९३ हजारलाई दादुरा–रुवेलाको खोप लगाईने भएको छ । फागुन १३ देखि शुरु हुने अभियान अन्र्तगत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाईने प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अभियान अन्र्तगत कोशी प्रदेशमा फागुन १३ देखि चैत ३ गते सम्म खोप लगाईने कार्यक्रम रहेको उहाँले बताउनुभयो । राष्ट्रिय अभियान फागुन १३ देखि चैत ७ गते सम्म भएपनि कोशी प्रदेशमा चैत ३ गते भित्रमा लक्षित जनसंख्यालाई खोप लगाईसकिने तयारी गरिएको उहाँले बताउनुभयो । फागुन १३ गते कोशी प्रदेशका भोजपुर, तेहृथुम, मोरङ र उदयपुरमा खोप लगाउँदै अभियानको शुभारम्भ गरिने भएको छ । अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य बनाएको निर्देशक बस्नेतले बताउनुभयो ।

अभियान अन्र्तगत मंगलबार स्वास्थ्य मन्त्रालयमा भएको प्रदेश स्तरिय खोप समन्वय समितिको बैठकमा स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको जनसंख्या ३ लाख ६४ हजार ७०६ र ५ वर्ष देखि १५ वर्षको जनसंख्या ५ लाख २९ हजार २२८ रहेको बताउनुभयो । उहाँले लक्षित जनसंख्याको सवैभन्दा बढी झापा, मोरङ र सुनसरीमा खोप लगाउनुपर्ने उहाँले बताउनुभयो । भण्डारीका अनुसार मोरङका लक्षित जनसंख्याको ३१ प्रतिशत, झापा र सुनसरीमा २६–२६ प्रतिशत रहेको छ ।

प्रदेशभरका ८ हजार ३६६ खोपकेन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मीले खोप लगाउने उहाँले बताउनुभयो । दक्षिणपूर्वी एशियाबाट सन् २०२६ सम्ममा दादुरा–रूबेला निवारण गर्ने लक्ष्य राखिएको छ । सोही अनुसार राष्ट्रियव्यापी अभियान शुरु गर्न लागिएको हो । यसअघि नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिएपनि संभव नभएपछि सन् २०२६ लाई निर्धारण गरिएको खोप अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार सन् २०२२ – २०२३ मा नेपालको धेरै जिल्लाहरुमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ लाई लक्ष्य निर्धारण गरिएको हो ।

दादुरा रूबेला निवारणका लागि दादुरा खोपको दुवै (पहिलो र दोश्रो ) मात्राको प्रगति सबै तहमा ९५ प्रतिशत भन्दा धेरै भएको हुनुपर्ने आधार र शर्तहरू रहेको छ । प्रति १ लाख जनसंख्यामा वार्षिक कम्तिमा २ जना शंकास्पद बिरामीको पहिचान भै प्रयोगशाला परिक्षणमा दादुरा नेगेटिभ भएको हुनुपर्ने, दादुरा रुबेला निवारण गर्न परिभाषित भौगोलिक क्षेत्रमा कम्तिमा १२ महिना सम्म स्थानिय दादुरा रुबेलाका रोगी देखा नपरेको हुनुपर्ने र ३ वर्ष सम्म सोहि अवस्था कायम भएमा दादुरा–रुबेलाको अवस्था शुन्य भएको मानिन्छ ।

स्वास्थ्य मन्त्रालय सचिव डा. सुधा देवकोटाले खोपमा ड्रप आउट चिन्ताको विषय भएको बताउनुभयो । उहाँले खोप कार्यक्रम कार्यन्वयन गर्ने निकाय संवेदनशील भए अभियान प्रभावकारी हुने बताउनुभयो ।

दादुरा–रुवेला एक संक्रमित व्यक्तिबाट १५ देखि १८ जना सम्मलाई संक्रमण हुने विज्ञहरुको भनाई छ ।