कोशी प्रदेश : ६ वर्षमा ६ मुख्यमन्त्री

विराटनगर– २०७४ मंसिर १० र २६ मा प्रदेश सभा निर्वाचन पछि प्रदेश कार्यपालिका र व्यवस्थापिका गठनको प्रक्रिया शुरू भयो । प्रदेशसभा निर्वाचन सम्पन्न भएको झण्डै दुई महिनापछि २०७४ माघ २ गते नेकपा एमालेका शेरधन राई तत्कालिन प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त भए । राईपछि कोशी प्रदेशमा पाँचजना मुख्यमन्त्री भएका छन् । एमालेबाट राई, भीम आचार्य र हिक्मतकुमार कार्की मुख्यमन्त्री भएका छन् । नेकपा एकिकृत समाजवादीबाट राजेन्द्र राई, नेपाली कांग्रेसबाट उद्धव थापा र नेपाली कांग्रेसबाट विद्रोह गरेर केदार कार्की मुख्यमन्त्री बनेका छन् ।
तत्कालिन प्रदेश नं. १ संस्थापक मुख्यमन्त्री राईले प्रदेशको साढे ३ वर्ष नेतृत्व गरे । प्रदेशले शुन्यबाट अघि बढाएका थिए । साढे तीन वर्ष प्रदेशमा महत्वपूर्ण कामको शुरुवात भए । कार्यकाल सम्पन्न गरेका ५ जना मुख्यमन्त्री मध्ये राईले बढी अवधि प्रदेशको नेतृत्व गरेका थिए । उनको कार्यकालमा पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण कामहरुको शुरुवात गरिएको थियो । कोभिड १९ को विश्वव्यापी महामारीमा समयमा तत्कालिन सरकारले ७ वटै प्रदेशमा उत्कृष्ट कार्य गर्न सकेको थियो । राईको नेतृत्वको समयमा प्रदेशको नामकरण हुन नसकेपनि प्रदेश राजधानी तोकिएको थियो । सर्वसम्मत रुपमा प्रदेशको राजधानी विराटनगर कायम गरिएको थियो ।

केन्द्रीय राजनीतिको उत्तारचढावकावीच उनले उनले पुरै कार्यकाल प्रदेशको नेतृत् वगर्न पाएनन् । २०७८ भदौ १० मा एमाले नेता भीम आचार्य दोश्रो मुख्यमन्त्रीमा नियुक्त भए । उनले २ महिना प्रदेशको नेतृत्व गर्ने अवसर पाएका थिए । २ महिना मात्रै प्रदेशको नेतृत्व गर्ने अवसर पाएपनि उनको नेतृत्वमा केही महत्वपूर्ण निर्णयहरु भएका थिए । शेरधन राई नेतृत्वले गर्न नसकेका कामहरु उनीमुख्यमन्त्री हुने वित्तिकै दीर्घकालिन निर्णय गर्न सफल भएका थिए । प्रदेश सरकार कसरी चल्नुपर्छ भन्ने सन्देश उनको कार्यकालले दिएको थियो । एमाले विभाजन हुनु अघिनै मुख्यमन्त्रीमा नियुक्त भएका उनले विश्वासको मत पाउन सकेनन । उनले विश्वासको मत लिने अवधि आगावै एमालेबाट १० जना प्रदेशसभा सदस्यहरु विभाजित भएर एकिकृत समाजवादीमा गएका थिए । एमाले विभाजनको असरका कारण उनले दुई महिना मात्र प्रदेश सरकारको नेतृत्व गरेका थिए । संसदीय दलको निर्वाचनमा शेरधन राईसँग पराजित भएपछि उनी संस्थापक मुख्यमन्त्री हुन पाएका थिएनन् ।

एमालेबाट अलग भएलगत्तै राजेन्द्र राई एकिकृत समाजवादीबाट प्रदेशको तेश्रो मुख्यमन्त्री बनेका थिए । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको समर्थनमा राई २०७८ कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शेरधन राईपछि हाल सम्म उनले बढी प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् । १४ महिना राईले प्रदेशको नेतृत्व गर्ने अवसर पाएका थिए । १४ महिना राईका लागि सुखद नै रहेपनि प्रदेशका लागि खास महत्वपूर्ण कार्य उनले गर्न नसकेको राजनीतिक विश्लेषकहरु बताउँछन् । सत्ता गठबन्धनको मुख्यमन्त्री भएपनि १४ महिना सामान्य रुपमा वितेको थियो । उनको कार्यकालमा मन्त्रालयहरुको विभाजन गरिएको थियो । प्रदेशलाई भार पर्ने गरि मन्त्रालयहरु विभाजन गरिएको प्रति सर्वत्र आलोचना भएको थियो । प्रदेश संरचनाप्रति यसैसमय देखि पनि असन्तुष्टी बढ्दै गएको थियो ।

पहिलो कार्यकालमा प्रदेशले तीन जना मुख्यमन्त्री पाएको थियो । २०७९ मंसिरमा सम्पन्न दोश्रो प्रदेशसभा निर्वाचनपछिको झण्डै एक वर्षको अवधिमा तीन जना मुख्यमन्त्री कोशी प्रदेशले पाएको छ । २०७९ पुस २४ गते एमालेका हिक्मतकुमार कार्की चौथो मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । नयाँ जनादेशपछि केन्द्रीय गठबन्धनका आधारमा माओवादी, राप्रपा र जसपाको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । मुख्यमन्त्रमिा नियुक्त भएको दुई महिना नपुग्दै प्रदेशको नामकरण गर्न उहाँ सफल हुनु भएको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई तिहाई बढी प्रदेशसभा सदस्यहरुको समर्थनमा उहाँले प्रदेशको नाम ‘कोशी’ नामकरण गर्न सफल हुनु भएको थियो । प्रदेशको दोश्रो कार्यकालको पहिलो मुख्यमन्त्री कार्की केन्द्रीय गठबन्धन परिवर्तन भएसँगै उहाँलाई विश्वासको मत लिन सकस पर्यो । ६ महिनामै उहाँले सरकारको नेतृत्व छाड्नु परेको थियो । कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादी, जसपा लगायतको केन्द्रीय गठबन्धन बनेसँगै कोशी प्रदेशबाट माओवादी र जसपाले समर्थन फिर्ता लिएका थिए ।

एमालेका कार्कीपछि प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा ०८० असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भए । सभामुखको हस्ताक्षर गराएर मुख्यमन्त्री भएका उनी विरुद्ध एमाले सर्वोच्च गयो । उनको नियुक्ती बदर भयो । उनी साउन ११ गते पदमुक्त भए । पुन : थापा सभामुख बाबुराम गौतमको राजीनामा गराएर साउन १६ मा मुख्यमन्त्री भए । सभाध्यक्षको मत सहितले उनले विश्वासको मत लिए । सभाध्यक्षको मत सहितले विश्वासको मत लिएपछि एमाले पुन : सर्वोच्च गयो । मुख्यमन्त्री थापा पुन ः पदमुक्त भए । करिव दुई महिना मुख्यमन्त्री भएका उनी सर्वाधिक आलोचित बने । पटक–पटक संविधान उल्लघंनको आरोप उनी माथि लाग्यो । २ महिनामा उनी सार्वजनिक कार्यक्रममा खासै देखा परेनन भने मन्त्रिपरिषद् बैठक पनि उनकै कार्यकालमा कम बस्यो । उनको कार्यकाल प्रदेशका लागि सर्वाधिक आलोचित बन्यो भने उनको नेतृत्वमा प्रदेश सरकारले सम्झन लायक कुनैपनि काम गर्न सकेन । दुवै पटक उनलाई सर्वोच्चले दीर्घकालिन निर्णय गर्न रोक लगाईदिएको थियो ।
कांग्रेसका उद्धव थापा पदमुक्त भएपछि भदौ २२ गते पुन : एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बने । दोश्रो पटक उनी एक महिनाका लागि मात्रै मुख्यमन्त्री बने । प्रदेशसभाको सवैभन्दा ठुलो दलको नेताका रुपमा नेपालको संविधान धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री भएका उनले ३० दिन भित्रमा विश्वासको मत लिन सकेनन । उनले असोज २० गते राजनीमा दिएपछि धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

केन्द्रीय गठबन्धनको निर्णय विरुद्ध नेपाली कांग्रेसबाट विद्रोह गरेर उनी प्रदेशको छैठौं मुख्यमन्त्री बन्न सफल भएका छन् । एमालेको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन । दोश्रो कार्यकालको एक वर्ष नवित्दै ४ वटा प्रदेश सरकार गठन भईसकेको छ । पाँचौं प्रदेश सरकार कार्की नेतृत्वको हुनेछ ।