आ.व. २०८०-०८१ को बजेटप्रति विराटनगरका उद्योगी व्यवसायीको मिश्रित प्रतिक्रिया

विराटनगर,१६ जेठ । सङ्घीय सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नु भएको बार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवं व्यापारीले मिश्रित प्रतिकिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवं व्यापारीहरुले सञ्चारकर्मीे सामूहिक रुपमा बजेट भाषणको अन्त्यमा प्रतिक्रिया दिनुभएको थियो ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विगतको भन्दा केही कम भएपनि बजेटले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँहरुको प्रतिक्रिया थियो । बजेटमा मल कारखाना खोल्नका निमित्त विस्तृत योजना प्रतिवेदन तयार गर्ने, सङ्घीय कृषि ऐन निर्माण तर्जुमा गरिने जस्ता कार्यबाट कृषिका आधुनिकीकरण र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । उद्योगीहरुले ३६ वस्तुको निर्यातमा अनुदान दिने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा विकास गर्ने, ३० प्रतिशत उत्पादन निर्यात गर्ने उद्योगलाई विशेष आर्थिक क्षेत्र(सेज)मा जग्गा उपलव्ध गराउन लगायतका घोषणाले उद्योमी व्यापारीहरुले यो सकारात्मक पक्ष रहेको उल्लेख गरेका छन् ।

विराटनगर बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट अन्तर्राष्ट्रिय खेल मैदानलाई निर्माण सम्पत्र गर्न बजेटको व्यवस्था हुनु खेलकुद क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने विश्वास उद्योगी एवं व्यापारीको छ । यस्तै निर्यात गर्ने सूचना प्रविधि क्षेत्रले आम्दानीको १० प्रतिशत सटहीको सुविधा पाउने, स्टार्ट अप प्रवद्र्धनका लागि रु एक अर्ब २५ करोड बजेट छुट्याउनाले सूचना प्रविधि क्षेत्रले ठूलो फड्को मार्नुका साथै यस क्षेत्रमा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । नेपाल उद्योग बाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बिदेशी लगानी लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने, नयाँ कम्पनी दर्तामा कुनै शुल्क नलिने, ढुङ्गा गिट्टी निर्यात गर्न दिने नीति बजेटको अत्यन्त सकारात्मक पक्ष रहेको बताउनु भयो । उहाँले विराटनगरको चक्रपथ, बिशेष आर्थिक क्षेत्र तथा प्रदर्शनी स्थलको निर्माणका लागि बजेटमा उल्लेख नहुन दुःखद हो भन्दै विराटनगर भन्सार क्षेत्रमा पार्किङ्ग र गोदाम घर निर्माण गर्ने कुरा सकारात्मक रहेको प्रतिक्रिया दिनु भयो । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले प्रस्तुत बजेट सहि ढङ्गले कार्यान्वयन भएमा मुलुकको आर्थिक क्षेत्र चलायमान हुने धारणा राख्नु भयो । उहाँले आयातलाई खुकुलो बनाउन ,नयाँ गाडी खरिद नगर्न, पुराना सवारी साधन बिक्री गर्नुपर्ने, विभित्र किसिमका भत्ता केही समयका लागि बन्द गर्नु, नयाँ कर्मचारीहरु नियुक्त नगर्ने जस्ता उद्योगी एवं व्यापारीको सुझाव कार्यान्वयन भएकोमा खुशी व्यक्त्त गर्नुभयो ।

मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष एवं उद्यमी महेश जाजुले सबै कुरालाई समेट्ने गरी बजेट आएको बताउँदै मुलुकमा विदेशी मुद्रा संचिती बृद्धिका कारण आगामी दिनमा देशको अर्थतन्त्रलाई आगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले सरकारले कित्ताकाट फुकुवा गर्नाले आर्थिक कारोबारमा निकै बढोत्तरी हुने विश्वास व्यक्त्त गर्नुभयो । अर्का पूर्व अध्यक्ष पवन शारडाले निजी क्षेत्रको राजस्वमा र रोजगारमा ८० प्रतिशत योगदान रहेपनि निजी क्षेत्रलाई बजेटबाट सेवा र सुविधा प्राप्त नभएको गुनासो व्यक्त गर्नु भयो । पर्यटन व्यवसायी भविष श्रेष्ठले प्रस्तुत बजेटले धार्मिक तथा सांस्कृति एवं पर्यटन क्षेत्रका पूर्वाधार निर्माण र विकासको घोषणाबाट छिमेकी देशका धार्मिक पर्यटकहरुको आगमनमा बृद्धि हुने विचार राख्नु भयो ।