एभरेष्ट स्कुल विराटनगरद्धारा एसईईमा उत्तीर्ण विद्यार्थी र अभिभावकलाई सम्मान, अभिभावक र विद्यार्थीको उत्कृष्ट रोजाई बन्दै

विराटनगर १८ असार । एभरेष्ट बोर्डिङ स्कुल विराटनगर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण एकसय ७१ विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ ।

शतप्रतिशत उत्कृष्ट नतिजा निकालेको एभरेष्टका दुई विद्यार्थी प्रेम खतिवडा र कृति गोयलले ४.० जीपीए ल्याएका छन् । १७१ परीक्षार्थी मध्ये एकसय ३३ जनाले ३.६१ देखि ४.० सम्मको उच्च जीपीए प्राप्त गरेका छन् भने बाँकी ३८ जनाले ३.२१ देखि ३.६० सम्मको जीपीए हासिल गरेको स्कुलले जनाएको छ ।

मंगलबार विराटनगरमा आयोजित विद्यार्थी सम्मान कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौलाले एभरेष्ट स्कुल अभिभावक र विद्यार्थीको उत्कृष्ट रोजाई बनेको बताउनुभयो । उहाँले एभरेष्टले प्राप्त गरेको उपलब्धी विगतको संघर्षका कारण भएको बताउनुभयो । उहाँले एभरेष्टका प्रिन्सीपल टीकाराम पुरा शिक्षामा भिजन भएको नेता भएको बताउनुभयो । एसईईमा उत्तीर्ण हुने सबै विद्यार्थीलाई उहाँले सफलताको शुभकामना दिनुभएको थियो ।

प्रिन्सिपल टीकाराम पुरीले एभरेष्ट बोर्डिङ स्कुलले विगत तीन वर्षदेखि एसईई उत्तीर्ण हुने विद्यार्थी र अभिभावकलाई सम्मान गर्दै आएको बताउनुभयो । २०५७ सालदेखि एसएसली (हाल एसईई) परीक्षामा सहभागिता जनाउंदै आएको बताउदै उहाँले त्यसयता आफ्ना बिद्यार्थीले निरन्तर उत्कृष्ट परिणाम ल्याउँदै आएको बताउनुभयो । विद्यार्थीले ४ जीपीए नै ल्याउनुपर्छ भन्ने भन्दा पनि गुणस्तरीय शिक्षा हासिल गर्नु पर्ने उहाँले बताउनुभयो ।

एभरेष्टको २५ औं ब्याचसम्म आइपुग्दा शैक्षिक गुणस्तर निरन्तर उकालो लाग्दै आएको उहाँको भनाई छ । भौतिक पूर्वाधारसहित शैक्षिक वातावरणमा कोशी प्रदेशकै अब्बल शैक्षिक संस्थाको रुपमा परिचित एभरेष्ट स्कुलले विद्यार्थीको शिक्षाको गुणस्तर, ब्यक्तित्व विकास र चरित्रवान बनाउन निरन्तर खोज तथा अनुसन्धान गर्दै विभिन्न कार्यक्रम गर्दै आएको छ । विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एभरेष्टले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्दै आएको छ ।

भारतको दिल्लीमा सफल अभ्यास भएको ह्यापिनेश करिकुलम, विश्वस्तरीय कम्प्युटर सिकाईका लागि बेलायतको डिजी स्कुल, विभिन्न खोज तथा अनुसन्धानका लागि कारखानालगायतका विभिन्न संस्थाहरुसँग एभरेष्टको सहकार्य गरेको छ ।