विराटनगर ५ पुस । २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गतेबाट कार्यकाल सकिदैछ । कार्यकाल सकिनु एक महिना अघि नै राष्ट्रिय सभा सदस्यको निर्वाचन गरिसक्नु पर्ने ब्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
कार्यकाल सकिन लागेका २० जना मध्ये एक जना सरकारकोको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने छन् । बाँकी १९ जना निर्वाचनबाट निर्वाचित भएर राष्ट्रियसभामा पुग्ने छन् । विदा हुनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४ माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र स्वतन्त्र दुई जना छन् । एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा अध्यक्षसमेत रहनु भएका गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राईको कार्यकाल सकिँदैछ । त्यस्तै कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि फागुन २० मा सकिने छ ।
माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं र सिंहबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादवको कार्यकाल सकिँदैछ । राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि कार्यकाल फागुन २० गते सकिदै छ । कोशी प्रदेशमा दुई सदस्य पदका लागि निर्वाचन हुने छ । कार्यकाल सकिन लागेकामा कोशी प्रदेशका २ जना छन् । नेपाली कांग्रेसका रमेशजंग राय माझी र माओवादी केन्द्रकी विना पोखरेल रहनु भएको छ । निर्वाचन आयोगका अनुसार कोशीमा एक खुल्ला र एक महिला पदको निर्वाचन हुने छ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम बमोजिम यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिने छ । प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ आयोगले जनाएको छ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
कोशी प्रदेशमा कस्को मत कति ?
राष्ट्रिय जनगणना २०७८ अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशी प्रदेशको मतभार १० हजार १३५ छ । स्थानीय तहका २७४ र प्रदेश सभाका ९३ जना सांसद राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदाता हुन । स्थानीय तहका प्रमुख /उपप्रमुखको मतभार १९ रहेको छ । प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ ।
कोशी प्रदेशमा १३७ स्थानीय तहका २७४ जना प्रमुख/उपप्रमुख रहेका छन् । १३७ स्थानीय तहमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३ जना छन् । एमालेका ११२, माओवादी केन्द्रका ३१, एकिकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना रहेका छन् ।
स्थानीय तहका २७४ जनप्रतिनिधिको ५ हजार २०६ मतभार रहेको छ । जसमा कांग्रेसको २ हजार १४७ मतभार, एमालेको २ हजार १२८, माओवादी केन्द्रको ५८९, नेकपा एसको १३३, जसपा र राप्रपाको ७६–७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
यसैगरि ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् ।
प्रदेशमा एमालेको मतभार २ हजार १२०, कांग्रेसको १ हजार ५३७, माओवादी केन्द्रको ६८९, राप्रपाको ३१८, नेकपा एसको २१२ र जसपाका ५३ मतभार रहेको छ ।
कोशी प्रदेशमा प्रदेश र स्थानीय गरेर एमालेको ४ हजार २४८, कांग्रेसको ३ हजा ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एसको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।