मोरङ र सुनसरीमा अपाङ्गता पुर्नस्थापना कार्यक्रमको प्रगति ८१ प्रतिशत

विराटनगर ११ साउन । कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साँझेदारीमा सञ्चालित अपाङ्गता पुर्नस्थापना कार्यक्रमको स्वामित्व प्रदेश सरकार र स्थानीयतहहरुले लिएका छन् । चालु आर्थिक वर्ष २०८०–०८१ देखि प्रदेश र स्थानीय तहहरुले आफ्नै लागत साझेदारीमा कार्यक्रमलाई अघि बढाउने भएका छन् । ३ वर्ष अघि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको ३३/३३ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको थियो । चालु आर्थिक वर्षदेखि प्रदेश र स्थानीय तहहरुले आफ्नै कार्यक्रम बनाएर नीति, कार्यक्रम तथा बजेटमा समावेश गरेका छन् ।
अपाङ्गता पुर्नस्थापना कार्यक्रम मोरङ र सुनसरीका १२ स्थानीय तहमा सञ्चालित छ । मंगलबार र बुधबार विराटनगरमा आयोजना गरिएको बार्षिक समीक्षा बैठकमा सहभागि भएका स्थानीय तहका उपप्रमुखहरुले अपाङ्गता पुर्नस्थापना कार्यक्रम आफ्नै कार्यक्रम भएको अनुभूती भएको बताएका छन् । बार्षिक प्रगति प्रस्तुतीकरणमा उनीहरुले कार्यक्रमको प्रभावकारीता बढेको बताएका छन् । कार्यक्रमले अपाङ्गता रोकथाम, पुर्नस्थापना तथा उनीहरुको क्षमता अभिबृद्धिमा सहयोग पुगेको उपप्रमुखहरुले बताएका छन् ।

अपाङ्गता पुर्नस्थापना कार्यक्रम अन्र्तगत प्रि– फोलिक एसिड, नव दम्पती तथा गर्भवतीलाई शुभकामना कार्ड वितरण, गर्भवतीलाई मोवाईल हेल्थ सेवा, जन्मदोषको स्क्रिनिङ, भिडियो एक्सरे सेवा, स्कुल हेल्थ स्क्रिनिङ, सहायक सामग्रीको पहुँच, अपाङ्गता भएका व्यक्तिको उपचार, जिविको पार्जनमा सहयोग, अपाङ्गता भएका व्यक्तिका लागि व्यवसायीक तालिम, क्षमता अभिबृद्धि, अपाङ्गतामैत्री संरक्षण र वकालत, आयमुलक तालिम, दोभाषे तालिम लगायतका ६० वटा क्रियाकलाप सञ्चालनमा रहेको करुणा फाउन्डेसनका कार्यक्रम अधिकृत राजीव चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम सञ्चालन पछि स्वास्थ्यको सुचकांक बढेको छ ।

अपाङ्गता पुर्नस्थापना कार्यक्रम अन्र्तगत जन्मजात अपाङ्गता भएकाहरुलाई उपचार गरि अपाङ्गता न्युनीकरणको काम भएको प्रदेश कार्यालयका व्यवस्थापक सन्तोष घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ जन्मजात अपाङ्गता नहुनका लागि क्रियाकलाप बढी केन्द्रीत छ ।’ तीन वर्षको अवधिमा कार्यक्रमको प्रगति ९५ प्रतिशत रहेको घिमिरेले बताउनुभयो । उहाँका अनुसार मोरङ र सुनसरीको प्रगति ८१ प्रतिशत छ । चालु आर्थिक वर्षदेखि करुणा फाउन्डेसनको प्राविधिक साँझेदारी हुने उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ हाम्रो अब लागत साँझेदारी हुँदैन, प्रदेश सरकार र स्थानीय सरकारले कार्यक्रमको अनुभुती गर्नुनै हाम्रो उपलब्धी हो ।’

कार्यक्रम सञ्चालन पछि अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । अपाङ्गतालाई पुर्वजन्मको पाप भन्ने, उनीहरुलाई देख्ने वित्तिकै घृणा गर्ने कुरामा परिवर्तन आएको मोरङ कार्यक्रम संयोजक श्यामकिशोर साहले बताउनुभयो । कार्यक्रम सञ्चालन भएका स्थानीय तहले अपाङ्गता भएका व्यक्तिलाई सहज हुनेगरि माथिल्लो तल्लामा रहेका कार्यालयहरुलाई भुँईतल्लामा सार्ने काम गरेको उहाँले बताउनुभयो । उहाँका अनुशार मोरङ र झापामा अपाङ्गता भएका व्यक्तिहरुको समूह गठन भएको छ । मिलिजुली समूहमा उनीहरु संगठित भएको र आफ्ना हक अधिकार खोज्न उहाँहरु सक्षम भएको शाहले बताउनुभयो । मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा करिव ९ हजार अपाङ्गता भएका व्यक्ति रहेको र उनीहरुको प्रोफायल तयार गरिएको उहाँले बताउनुभयो । व्यक्तिगत प्रोफाईलका आधारमा योजना बनाएर काम गर्ने गरिएको उहाँले बताउनुभयो ।

बार्षिक समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, स्थानीय तहका उपप्रमुख, सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बराल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, करुणा फाउन्डेसन केन्द्रीय कार्यालयबाट अनुगमन मूल्यांकन व्यवस्थापक इन्दिरा खड्का स्थानीय तहका स्वास्थ्य शाखा, महिला, बालबालिका शाखा, अपाङ्गता रोकथाम पुर्नस्थापना कार्यक्रमका फोकल पर्शन, लगायतको सहभागिता रहेको थियो ।

अपाङ्गता पुर्नस्थापना कार्यक्रम सुनसरीको इनरुवा, देवानगञ्ज, हरिनगर र बर्जु, मोरङको विराटनगर, बुढीगंगा, सुनबर्षी, रतुवामाई, कटहरी, धनपालथान, जहदा र रंगेलीमा सञ्चालित छ ।